अक्षयकोषलाई सहयोग घोषणा

काठमाडौं । तामाङ सोसाइटी अफ नर्थ अमेरिका (टीएसएनए)का अध्यक्ष लक्यान लामा र मिडिया कोअर्डिनेटर ङिमा पाख्रिनले तामाङ पत्रकारिता पुरस्कार स्थापना गर्न एक-एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। पुस ३०, २०७८ शुक्रबार काठमाडौंमा तामाङ पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनीहरुले उक्त प्रतिबद्धता जनाएका हुन्।

हाल काठमाडौंमा रहेका लामा र पाख्रिनसँग संस्थागत सहकार्य अगाडि बढाउनेबारे छलफल गर्न संघले कार्यक्रम आयोजना गरेको थियो। सोही क्रममा पत्रकारिता पुरस्कार स्थापनाका लागि संघले राखेको प्रस्तावबमोजिम उनीहरुले व्यक्तिगत रुपमा एक/एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

 

टीएसएनएका अध्यक्ष तामाङले पुरस्कारसँगै तालिम तथा अन्य कार्यक्रमका लागिसमेत संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले ठोस योजनासहित प्रस्ताव पठाउन संघका पदाधिकारीहरुलाई आग्रह गरे। ‘तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले संस्थागत सहकार्यमा विशेष जोड दिँदै आएको छ। तामाङ समुदायको उत्थानका लागि हामी सहकार्य र सहयोगका लागि तयार छौं। तामाङ पत्रकरिताको विकासका लागि के-कस्तो सहयोग हामीले गर्नुपर्छ ठोस योजनासहित प्रस्ताव गर्नुहोला, हाम्रो साथ रहन्छ,’ अध्यक्ष लामाले भने।

 

तामाङ समुदायको उत्थानमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै उनले तामाङ पत्रकारहरुलाई प्रोत्साहित गर्न पुरस्कार स्थापनाका लागि सहयोग गरेको बताए।

 

टीएसएनएका मिडिया कोअर्डिनेटर एवं संघका सल्लाहकार पाख्रिनले पत्रकारिता पुरस्कारका लागि आवश्यक कोष स्थापना गर्न आफूले थप रकम जुटाउन पहल गर्ने बताए। ‘अहिले मेरो व्यक्तिगत तर्फबाट एक लाख सहयोग गर्छु। अध्यक्षज्यूबाट एक लाख आउने पक्का भयो। थप रकम जुटाएर कोषलाई बलियो बनाउनेमा मेरो जोड रहन्छ,’ उनले भने।

सोही अवसरमा कोभिड-१९ महामारीबाट प्रभावित तामाङ पत्रकारहरुका लागि राहत जुटाउन सहयोग पुर्‍याएबापत संघले पाख्रिनलाई कदरपत्रबाट सम्मान गरेको थियो। गत वर्ष लकडाउनको समयमा संघले सञ्चालन गरेको राहत अभियानका क्रममा पाख्रिनकै समन्वयमा अमेरिकाबाट स्वास्थ्य तथा खाद्य सामग्रीका लागि आर्थिक सहयोग प्राप्त भएको थियो।

 

संघका अध्यक्ष सुवास योञ्जनले टीएसएनएका अध्यक्ष लामा र मिडिया कोअर्डिनेटर पाख्रिनबाट प्राप्त सहयोगले तामाङ पत्रकारहरुको हौसला बढाउने बताए। उनले प्राप्त रकमबाट कोष स्थापना गरी वार्षिक रुपमा पुरस्कार वितरण गरिने बताए। ‘तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले जुन किसिमको सद्‍भाव हामीलाई देखाउनुभएको छ, यसले पक्कै पनि तामाङ समुदायका मुद्दा उठाइरहेका पत्रकारहरुलाई प्रोत्साहन मिल्नेछ,’ योञ्जनले भने। यो सहयोगले दुई संस्थाबीचको सम्बन्ध थप मजबुत हुने उनले बताए।

 

कार्यक्रममा संघका सल्लाहकार, पूर्वअध्यक्ष, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो। तामाङ पत्रकारहरुको साझा यस संस्थाको दुई वटा प्रदेश समिति, २२ जिल्ला शाखा र दक्षिण कोरियामा प्रवास शाखा रहेको छ।