हाम्रो उद्देश्य : व्यवसायिक पत्रकारिता
तामाङ कुलमा जन्मिएर तामाङ भाषाको पत्रकारिता र नेपालीसहित अन्य भाषाको पत्रकारितामा क्रियाशील तामाङ पत्रकारहरुको साझा संगठन हो – तामाङ पत्रकार संघ।
तामाङ पत्रकार संघले तामाङ भाषा, संस्कृति संरक्षण र संम्बद्र्धनमा साथ दिँदै सामाजिक, आर्थिक र राजनीतिक अधिकार प्राप्तीका लागि खबरदारी र पहरेदारको भूमिका निर्वाह गर्दै आएको छ।
विगत २१ वर्षदेखि संगठित हुँदै अहिले आएर २३ जिल्ला, कोशी र बागमती प्रदेश र १ दक्षिण कोरियास्थित प्रवास शाखाका रुपमा हामी विस्तार भइसकेका छौं।
भाषामा विविधतायुक्त हाम्रो देशमा सञ्चार नीति समावेसी छैन।
त्यसैले हाम्रो मुख्य उद्देश्य भनेकै तामाङ भाषाको पत्रकारितालाई निरन्तरता दिन र थप बलियो बनाउन नीतिगत तहमा दबाव दिने, नेपाली भाषाबाट पत्रकारितामार्फत तामाङ समुदायको मुद्दाहरुलाई उठाउने, बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा तामाङ भाषालाई कार्यान्वयनमा ल्याउनमा जोड दिने, सरकारी माध्यममा तामाङ भाषाको कार्यक्रम, समाचारहरु प्रकाशन तथा प्रसारणका लागि नीतिगत तहमा पहल गर्ने र पत्रकारितालाई बढीभन्दा बढी व्यावसायिक बनाउने हो।
यसका साथै तामाङ पत्रकारहरुलाई संगठित गर्दै आफ्नो हकहितका साथै क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गर्ने संघको अर्को उद्देश्य हो। तामाङ सञ्चार समूहको रुपमा जुन उद्देश्यका साथ संस्था स्थापना भएको हो, यसलाई निरन्तरता दिनु संघको मुल धर्म हो।
तामाङ समुदायको भाषा, ज्ञान, शिक्षा प्रणाली, इतिहास र तामाङ राष्ट्रप्रणाली अजम्बरी विषय हुन्। यिनै विषयमा क्रमबद्ध रुपमा नीतिगत बहस, प्रचारप्रसार गर्ने प्रमुख उद्देश्य यो केन्द्रीय कार्यसमितिको रहनेछ।
आजको समयमा मिडियाको परिभाषा फराकिलो बन्दै आएको अवस्था छ। डिजिटल माध्यमको तीव्र उपलब्धता र सोसल मिडियाको सहजताले अहिले जोसुकै नागरिक पत्रकारिता पनि फस्टिँदै गएको छ।
यो खुसीको कुरा हो। यद्यपि तामाङ पत्रकार संघ विशेषगरी व्यवसायिकतामा विश्वास गर्दछ र पछिल्ला डिपफेक, भ्रामक सूचना, डिस इन्फरमेसन र फेक न्युजप्रति भने सजग रहनेछ।
समावेशी, लोकतन्त्र, विकास र सुशासन कायम गर्न पनि पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ। पारदर्शी र जवाफदेहीपूर्ण पत्रकारिताले मात्र सुशासन कायम हुनसक्दछ, लोकतन्त्र फस्टाउन सक्दछ। पहुँच र प्रतिनिधित्व मात्र नभई विषयवस्तुमा समेत समावेशिताको सिद्धान्त अपनाउने हो भने नेपाली पत्रकारिता साँच्चै व्यावसायिक बन्न सक्दछ। नेपाली पत्रकारिता क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन तामाङ पत्रकार संघ सदैव क्रियाशील रहनेछ, रहदै आएको र रहने छ।
अध्यक्ष
नेत्र तामाङ