राष्ट्रिय भेला सम्पन्न

प्रेस विज्ञप्ति

तामाङ पत्रकार संघको आयोजनामा तामाङ पत्रकारहरुको दुई दिने राष्ट्रिय भेला शनिबार सम्पन्न भयो । जेठ ५ र ६ गते (शुक्रबार र शनिबार) काठमाडौंको नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित उक्त भेलाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले गर्नुभएको थियो । उद्घाटन समारोहमा संघले प्रकाशन गरेको ‘कलमजीवि’ पत्रिकासमेत मन्त्री लामाले सार्वजनिक गर्नुभयो । भेलामा संघको कोसी र बागमती प्रदेश समिति, २२ वटा जिल्ला शाखा र प्रवास शाखा (दक्षिण) कोरियाका पदाधिकारी÷प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

पहिलो दिन (शुक्रबार), कार्यक्रम उद्घाटनसँगै प्रदेश तथा जिल्लाका प्रतिनिधिबाट रिपोर्टिङ र त्यसमाथि छलफल गरियो । सोही दिनको अन्तिम सत्रमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार सदस्य वंशलाल तामाङसँग ‘स्थानीय तहमा तामाङ समुदायको मुद्दा र कार्यान्वयनको अवस्था’बारे अन्तरक्रिया गरियो ।
दोस्रो दिन (शनिबार), तीन जना विज्ञहरुबाट प्रशिक्षणात्मक प्रस्तुति दिनुभयो । तामाङ पत्रकार संघका सल्लाहकार एवं पूर्वअध्यक्ष जगतमान लामा दोङले ‘तामाङ पत्रकार संघको सांगठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’ शीर्षकमा प्रस्तुति दिनुभयो । संघका सल्लाहकार वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले ‘तामाङ आदिवासी जनजातिको मिडिया सरोकार’ शीर्षकमा प्रस्तुति राख्नुभयो । संघका सल्लाहकार वरिष्ठ पत्रकार अमरध्वज लामाले ‘तामाङ पत्रकारको क्षमता अभिवृद्धि र स्रोत पहिचान’ शीर्षकमा प्रस्तुति दिनुभयो ।

दोस्रो दिन नै बागमती प्रदेश प्रेस रजिष्ट्रार कार्यालयका सञ्चार रजिष्ट्रार रेवती सापकोटासँग ‘मातृभाषा पत्रकारिता विकासमा प्रेस राजिस्ट्रार कार्यालयको भूमिका’ शीर्षकमा अन्तरक्रिया सम्पन्न गरियो । उहाँले मातृभाषा संरक्षणका लागि भाषालाई डिजिटालाइज गर्नुपर्ने धारणा राख्नुभयो । मातृभाषा पत्रकारिता विकासका लागि योजना बनाई कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।
कार्यक्रमको अन्तिम सत्रमा बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले आफ्नो अनुभवहरु राख्नुभयो । उहाँले उपप्रमुख पदमा पुग्न गरेको संघर्ष र निर्वाचित भएपछिको अनुभव, स्थानीय आदिवासीहरुको सवाललगायत विषयहरुमा आफ्नो भनाइ राख्नुभएको थियो ।

तामाङ पत्रकार अक्षयकोष घोषणा

यसै राष्ट्रिय भेलाको अवसरमा १० लाख रुपैयाँको ‘तामाङ पत्रकार अक्षयकोष’ घोषणा गरिएको छ । उक्त कोषबाट आउने ब्याज रकमबाट तामाङ पत्रकारहरुको वृत्ति विकास तथा उनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक वर्ष एक जनालाई ५० हजार रुपैयाँ राशिको ‘पहिचानमूलक तामाङ पत्रकारिता लेखनावृत्ति’, प्रत्येक वर्ष दुई जनालाई १०–१० हजार रुपैयाँ राशिसहित ‘तामाङ मिडिया अवार्ड’ र संघका पूर्वउपाध्यक्ष स्व. दीपेन्द्र दोङ तामाङको स्मृतिमा प्रत्येक वर्ष एक जनालाई १० हजार रुपैयाँ राशिको ‘दीपेन्द्र दोङ तामाङ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्नेछ । कोषका लागि कार्यक्रममै विभिन्न व्यक्तिहरुबाट ६ लाख ५० हजार रुपैयाँको प्रतिबद्धतासमेत प्राप्त भएको छ ।

मितिः २०८० जेठ ६ गते ।

 

सुवास योञ्जन तामाङ
अध्यक्ष
९८५११९३५८७